नातीको विहेका लागि बेलायत आएका ७५ वर्षीय क्षेत्रीको कोरोनाले लियो ज्यान

काठमाडौँ – नातीको विहेका लागि बेलायत आएका एकजना नेपालीको कोरोना भाइरस संक्रमणका कारण निधन भएको छ । गत फेब्रुअरी महिनाको २६ तारिख लण्डन आइपुगेका बाग्लुंग जिल्लाको बाग्लुंग नरपालिका- १२, अमलाचौरका ७५ वर्षीय कर्णबहादुर क्षेत्रीको बुधबार लण्डनको नर्थविक पार्क अस्पतालमा निधन भएको हो ।

मार्च ३० तारिखका दिन अस्पताल भर्ना भएका उनलाई त्यसको दुई दिनपछि भेन्टिलेटरमा राखिएको थियो । एम्बुलेन्समा आएको प्यारामेडिकको टोलीले पनि अरु सबै सामान्य रहेको तर अक्सिजनको कमी भएको हुन सक्ने बताएपछि अस्पताल भर्ना गरिएको थियो । त्यसअघि क्षेत्रीलाई श्वासप्रश्वासमा समेत कुनै समस्या भएको थिएन ।

अस्पताल भर्ना गरेर जाँच गर्दा क्षेत्रीलाई निमोनिया देखिएको डाक्टरहरुले बताएका थिए । सोमबार साँझ अस्पताल भर्ना भएका उनलाई बुधबार बिहानदेखि भेन्टिलेटरमा राखिएको थियो । क्षेत्रीलाई कोरोनाको संक्रमण पुष्टी भएको जानकारी पनि परिवारले सोहि दिन पाएको थियो ।

बुधबार दिउँसो अस्पतालले परिवारलाई टेलिफोन गरेर क्षेत्रीलाई बचाउन कुनै उपाय नलागेको जानकारी गराएको थियो । अप्रत्यासित रुपमा क्षेत्रीको निधनपछि अहिले परिवार मर्माहत छ । क्षेत्रीसंगै आएकी उनकी ७१ वर्षीय श्रीमतीलाई सम्हालिन गाह्रो परेको छ ।

मृतक कार्की इण्डियन आर्मीका ‘रिटायर्ड पेन्सनर’ थिए । अवकाशप्राप्त जीवनलाई आफ्नै गाउँमा समाजसेवा र राजनीतिमा लगाएका उनी तत्कालिन गाविसमा एमालेको तर्फबाट उपाध्यक्ष निर्वाचित भएका थिए । परिवारका अनुसार उनलाई खासै कुनै ठूलो स्वास्थ्यसमस्या समेत थिएन ।

क्षेत्रीका ४ छोरा र तीन छोरी छन् । जेठो छोरा मिलन परिवारसहित लण्डनमा छन् भने कान्छो छोरा र बुहारी जापानमा छन् । अरु सबै नेपालमै छन् ।
.
नातीको विहेका लागि लण्डन आएका क्षेत्री दम्पति अप्रिल २६ मा नेपाल फर्किने टिकट थियो । कोरोनाको महामारी सुरु हुन लागेपछि नेपाल नै बढि सुरक्षित हुन्छ कि भनेर बाबुआमालाई पठाउनेबारे सोंचेका पनि थिए छोराबुहारीले । तर भनेजस्तो व्यवस्था नभएपछि बेलायतमै बस्दा पनि राम्रै होला भनेर चित्त बुझाएका थिए उनीहरुले ।

मार्चको अन्तिमसातादेखि अहिलेसम्म बेलायतमा क्षेत्रीसहित ६ जना नेपालीको निधन भइसकेको छ । सबैको मृत्यु कोरोनाबाट भएको जनाएको छ ।

Leave a Reply