कोरोनाको त्रास हुदाहुदै पनि विगत ६ महिनादेखि ठप्प रहेका लामो दूरीका बस आजबाट गुड्ने

१ असोज । करिब ६ महिनादेखि ठप्प रहेका लामो दूरीका सार्वजनिक बसहरू आजबाट गुड्ने भएका छन् । विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरस ९कोभिड–१९० महामारीका कारण यातायात तथा हवाइ उडान ठप्प भएका थिए । भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले गत चैत ११ गतेदेखि देशव्यापी लकडाउन सुरू गरेको थियो । लकडाउनसँगै बन्द भएका लामो दुरी तथा अन्तरजिल्ला सञ्चालन हुने सार्वजनिक सवारी साधन बल्ल आजदेखि खुल्ने भएका हुन् । आजैदेखि आन्तरिक हवाइ उडान समेत खुल्ने बताइएको छ ।

मन्त्रिपरिषदको मंगलबार बसेको बैठकले १ असोज ९आज० देखि नै लामो दुरीका सवारी साधन सञ्चालन गर्न अनुमति दिएको थियो । यससँगै यातायात व्यवसायी र मजदुरहरू आजबाटै सार्वजनिक सवारी साधन सञ्चालन गर्न तयार भएका हुन् । सरकारले अनुमति नदिए पनि व्यवासायीले बस गुडाउने चेतावनी दिँदै आएका थिए । यातायात व्यवसायीहरूले बिहीबार बिहानसम्म बस सञ्चालनको कार्यविधि उपलब्ध गराउन पनि माग गरेका छन् । सरकारले कार्यविधि बनाउने जिम्मा भौतिक तथा यातायात मन्त्रालयलाई दिएको छ ।

कोरोना संक्रमणको जोखि झनै बढेको वेला लामो दूरीका बस सञ्चालन हुनुले संक्रमण झन् फैलने चिन्ता पनि छ । सरकारले अनिवार्य रूपमा स्वास्थ्य मापदण्ड लागू गर्न निर्देशन दिएको छ । जसअनुसार बसले सिट क्षमताको आधा मात्रै यात्रु बोक्न पाउनेछन् । यसैकारण तोकिएको भाडादरभन्दा ५० प्रतिशत अतिरिक्त भाडा लिन सक्ने निर्णय गरिएको छ । सिटबाहेक अन्यत्र यात्रु राख्न भने पाइनेछैन । साथै चालक, सहचालक, परिचालक, बुकिङका कर्मचारीलाई मास्क, स्यानिटाइजर, पन्जा, फेस भाइजकलगायतका स्वास्थ्य उपकरण अनिवार्य रूपमा प्रयोग गर्न अनुरोध गरिएको छ । यात्रुले पनि अनिवार्य रूपमा मास्क प्रयोग गर्नुपर्नेछ ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ र यातायात सम्बद्ध तीनवटै ट्रेड युनियनका प्रतिनिधिले बुधबार सिंहदरबारमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङसँग भेट गरेर यातायात सञ्चालन प्रक्रियाबारे थप छलफल गरेका थिए । भेटपछि उनीहरूले सामूहिक विज्ञप्ति जारी गर्दै यातायात सञ्चालन गर्न दिने सरकारी निर्णयको स्वागत गर्दै धन्यवादसमेत ज्ञापन गरेका थिए ।यसअघि पनि महासंघ र यातायातसम्बद्ध तीनवटै ट्रेड युनियनले मन्त्री नेम्वाङलाई भेटेर १ असोजदेखि सार्वजनिक यातायात सञ्चालन गर्ने व्यवस्था गरिदिन आग्रह गरिरहेका थिए ।

Leave a Reply