गरिब हुनुको पिडा १४ वर्षमा विवाह, २२ वर्षमा चार सन्तान

विराटनगर – मोरङ जहदाकी मञ्झा रिसिदेवको १४ वर्षको उमेरमा विवाह भयो। १५ वर्षको उमेरमा जन्मिएको पहिलो छोरा अहिले ८ वर्षको भयो। विवाह के हो भन्ने नबुझी घरजम गरेकी मञ्झाको २२ वर्षकै उमेरमा चार सन्तान भए। सोही स्थानकी २० वर्षीया मिनिया रिसिदेवका पनि तीन छोराछोरी छन्। ७ वर्षअघि मोरङको लक्ष्मीना माइती भएकी उनको जाहदा–३ का वसन्ता रिसिदेवसँग १३ वर्षको उमेरमा मागी विवाह भएको थियो। किशोरी उमेरमै विवाह गरेर आमा भएका मञ्झा र मिनिया प्रतिनिधि उदाहरण मात्रै हुन्। मोरङको ग्रामीण क्षेत्रमा बस्ने दलित समुदायसँगै अन्य सीमान्तकृत समुदायका बालिकाको अझै पनि कलिलै उमेरमा विवाह हुन्छ। कानुनतः विवाह गर्ने उमेरमा उनीहरू आमा बनिसकेका हुन्छन्।

आफ्नो विवाह किशोरी अवस्थामै भएको मञ्झालाई भर्खरै मात्र थाहा हुँदैछ। ‘पढ्दापढ्दै विवाह भयो, पढ्ने रहर त थियो तर, पाइएन’, उनले भनिन् ‘अहिले मात्रै थाहा हुँदैछ, सानैमा विवाह गर्नु बालविवाह हो, यस्तो गर्न पाइँदैन भनेर।’ उनका श्रीमान् मिस्त्री काम गर्छन्, उनी घरव्यवहार समाल्छिन्। छोराछोरी हुर्काउने र घरको कामबाहेक मञ्झालाई अन्य विषयको जानकारी छैन। कुन उमेरमा विवाह गर्ने, विवाह गरेपछि आफ्नो भूमिका के हुन्छ, कहिले बच्चा जन्माउने भन्ने जानकारी नहुँदा बालविवाह अझै रोकिएको छैन। बाबुआमाले जे भन्यो त्यही मान्नुपर्ने, जहिले भन्यो त्यही बेला विवाह गर्नुपर्ने समस्या अझै छ।

खेल्ने र रमाउने उमेरमा विवाह भएर पराई घर पुगेका किशोरीको अनुहारले प्रस्ट भन्छ ‘हामी खुसी छैनौ’ भनेर। तर परिवारको निर्णय मान्न बाध्य हुनुपर्ने मिनिया दुःखेसो पोख्छिन्। ‘ठूलो उमेरकासँग विवाह गरेर पठाउँदा केटाको विषयमा केही थाहा हुँदैन, बोल्न र आफ्नो कुरा राख्न पनि पाइँदैन’, उनले भनिन्। विवाह गरेपछि समयमै बच्चा जन्माउनुपर्ने आफन्त र परिवारको दबाबले कम उमेरमै आमा हुने धेरै छन्। जहदाकै २१ वर्षीया किरण पासवानका तीन सन्तान छन्। २० वर्ष नपुगी विवाह गरे दण्ड र जरिवाना गर्ने कानुनी प्रावधान रहे पनि यस क्षेत्रका दलित समुदायमा यो प्रचलन कायमै छ। सरकारले बाल विवाह रोकथाममा विभिन्न कार्यक्रम चलाए पनि अभियान दलित र सीमान्तकृत समाजमा अझै पुगेको छैन । अन्नपूर्ण पोस्टमा लेखिएको छ ।

यो अभियानमा स्थानीय निकायको भूमिका पनि प्रभावकारी देखिएको छैन। बाल विवाहबारे कानुनी प्रावधान र वडास्तरमा जागरण अभियान सुरु भएपछि केही हदसम्म यो समस्या घटेको स्थानीय कलानन्द पासवान दाबी गर्छन्। सामाजिक अभियन्ता राजेश झा सानै उमेरमा विवाह भएकाहरूको दाम्पत्य जीवन कष्टकर भएको बताउँछन्। बाल विवाह गरेका दलित समुदायमा श्रीमतीलाई छोड्ने, घरपरिवारले स्वीकार नगर्ने र कु,टपिटका घट,ना हुने गरेका उनको भनाइ छ। झाले भने, ‘भारतमा विवाह गरेर जाने कतिपय नेपाली चेली पहिचानविहीन भएका छन्।’

Leave a Reply