काठमाडौंलाई सिकाइ हुनेछ बोगोटा सहरको ‘साइक्लोभिया’

सडकको परिभाषामा विश्वमै नयाँ मानक स्थापना गरेको कोलम्बियाको राजधानी बोगोटा सहरबारे हामी कुरा गर्दैछौं।

सडक भनेको भौतिक संरचना मात्र होइन। यसको मानवीय पक्ष पनि हुन्छ, जसको उच्च मूल्यांकन गर्दै सडक र बाटाहरूलाई मानवीयकरण गर्ने अभियान बोगोटा सहरले सुरू गर्यो। आज संसारका चार सयभन्दा बढी विकसित सहरले यसको अनुकरण गरेका छन्।

यही सन्दर्भमा सहर, सडक, साइकल, पैदलयात्रासँग प्रत्यक्ष जोडिएको सामाजिक तथा वातावरणीय अभियान हो- साइक्लोभिया।

बोगोटामा हरेक आइतबार र सार्वजनिक बिदाका दिन बिहान ७ देखि दिउँसो २ बजेसम्म प्रमुख सडकहरूलाई ‘साइक्लोभिया’ का लागि समर्पित गरिन्छ। यस क्रममा १ सय २० किलोमिटर सडकमा पूर्ण वा आंशिक रूपले गाडी निषेध गरिन्छ। त्यहाँ साइकलयात्री, पैदलयात्री, ह्विलचेयरयात्री, स्केटबोर्डयात्री र रनरहरूलाई निर्वाध रूपले सडक प्रयोग गर्न दिइन्छ।

यति मात्र होइन, संगीतप्रेमी, कलाकार, कवि, साहित्यप्रेमी, शारीरिक व्यायाम गर्ने कयौं समूहले सडकमै आ-आफ्ना कार्यक्रम प्रस्तुत गर्छन्।

बोगोटा पनि काठमाडौंजस्तै उच्च पहाडी उपत्यका हो। कुनै बेला यो सहर काठमाडौंजस्तै ट्राफिक, भीडभाड र सडक दुर्घटनाले आक्रान्त थियो। हरेक दिनजसो यातायात र मानिसको बाक्लो आबादीबाट निस्कने वायुप्रदूषण सहरमाथि तैरिएर बसेको हुन्थ्यो।

साइक्लोभिया अभियान सुरू भएपछि यहाँको एकचौथाइ जनसंख्या, अर्थात् लगभग १७ लाख मानिस सवारीमुक्त सडकमा निर्वाध हिँडडुल गर्न थालेका छन्। वृद्धदेखि बच्चासम्म साइकल चलाउँदै, पैदल हिँड्दै सडकमा विचरण गर्छन्। यसले सडक, सहर र समाजको राम्रो सम्बन्धलाई पोषण गरिरहेको छ।

बोगोटाको धनी वर्ग सहरको उत्तरी क्षेत्रमा बस्छ भने मध्यम वर्ग मध्यक्षेत्र र गरिब तथा तल्लो आर्थिक वर्गका बासिन्दा दक्षिणी बोगोटामा बस्छन्। अरू बेला खासै घुलमिल नहुने यी तीनथरि वर्गका मानिस साइक्लोभिया बेला सँगसँगै सडकमा आउँछन्। मानवीय रूपले घुलमिल हुने मौका जुटाउँछन्।निम्न वर्गका मानिस साइकल चलाउँदै दक्षिणबाट उत्तरतिर जान्छन्, धनीहरू उत्तरबाट दक्षिण झर्छन्।

जसरी सधैंजसो घर र स्कुलको कोठाभित्र गुम्सिएको बालक खुला चउर देख्नेबित्तिकै बतासिएर दौडिन थाल्छ, सहरको बस्ती, अपार्टमेन्ट र कोठामा साँघुरिएर बसेका मानिस पनि साइक्लोभियाका दिन खुला सडकमा निस्केर आफ्नो शरीर र आत्माको आयातन फैलाउँछन्।

साइक्लोभिया यसरी हरेक पुस्ता र वर्गका लागि उपयोगीसिद्ध भएको छ। भीडभाड, घम्साघम्सी, दौडधुपको जिन्दगीले सहरबासीहरूमा विभिन्न मानसिक तथा शारीरिक रोग जन्माएको हामी पाउँछौं। आर्थिक बोझ र मानसिक विचलन पनि देखिएका छन्। साइक्लोभियाले सहरबासीलाई यी समस्याबाट आंशिक भए पनि मुक्ति दिन्छ।

खासगरी शारीरिक सक्रियताका लागि ठाउँ नपाइरहेका निम्न मध्यम वर्गले खुला सडकमै साइक्लिङ वा जगिङ गर्ने अवसर पाउँछन्। मोबाइल, टिभी र इलेक्ट्रोनिक खेल सामग्रीमै झुम्मिएर बस्ने केटाकेटीलाई त्यसबाट छुटकारा दिलाउँछ। वृद्धवृद्धाले घरबाट निस्केर हिँडडुल गर्ने ठाउँ पाउँछन्।

साइक्लोभियाकै कारण मानिसले आफ्ना साप्ताहिक व्यायाम तालिकामा परिवर्तन ल्याएको अध्ययनले देखाएको छ।

सन् २००९ को अध्ययनअनुसार ४२ प्रतिशत वयस्कले यस्तो कार्यक्रम बेला कम्तिमा अढाइ घन्टा समय निकालेको पाइएको छ। तीमध्ये १२ प्रतिशतले मात्र त्यही अनुपातको व्यायाम समय अरू दिन निकालेका थिए।

सडकमा मोटरगाडीले आधिपत्य जमाउन थालेको सन् १९४० दशकदेखि हो। त्यसयता सहरको डिजाइन नै कार, मोटरगाडीमा केन्द्रित हुँदै गयो। सडक र बाटाहरू कार र मोटरगाडीले विशेष प्राथमिकता पाउन थाल्यो। सहरी विकासमा सडक र खुला स्थलहरू यस्तरी डिजाइन गरिए, मानौं कार र मोटरगाडी नै सहरको जीवन हो।

सडकमा मानवीय पक्षमाथि मेकानिकल पक्ष हाबी भयो। आज विश्वका हरेकजसो सहर यही कारणले थेग्नै नसकिने समस्यामा फसेका छन्। सडक जाम, भयावह दुर्घटना, मृत्यु, आर्थिक भार, ध्वनि प्रदूषण र सबभन्दा खतरनाक रूपमा देखापरेको वायु प्रदूषण। जुन वायुविना जीवन र जगतको कल्पना गर्न सकिन्न, त्यही प्राणवायु प्राणघातक रूपमा दूषित छ। सौम्य, शालीन, गतिशील, सजीव, जीवन्त र मानवीय गुणले भरपुर हुनुपर्ने सहरका मानवीय पक्षहरू मृततुल्य हुँदै गएका छन्। सहर स्वार्थकेन्द्रित, व्यक्तिपरक, उपभोक्तावादी, रोगी, अस्तव्यस्त, भागदौड र दुर्घटनाग्रस्त हुँदै गएका छन्। भद्रगोल र भीडको बीचमा सहर नितान्त एक्लो छ।

साइक्लोभिया भनेको सहर र सडकको यही सम्बन्धका पाटा केलाउने अभियान हो। बोगोटामा जबदेखि बच्चाहरूलाई लिएर सडकमा घुम्दै हिँड्ने क्रम सुरू भयो, जगिङ, साइक्लिङ र खुला स्थलमा कलात्मक प्रस्तुतिहरू हुन थाले, तब बल्ल मानिसले सडकलाई पनि खुला स्थलका रूपमा प्रयोग गर्न सकिन्छ भन्ने बुझे। सहरको कति धेरै ठाउँ कार र मोटरगाडीले ओगटेको रहेछ भनेर थाहा पाउन थाले। सहरलाई सामाजिक, वातावरणीय र स्वास्थ्य दृष्टिले गतिशील बनाउने गरी डिजाइन हुन थाल्यो। यही नै साइक्लोभियाको चेतनाशक्ति बन्यो।

‘साइक्लोभिया’ अभियानका पहिलो अभियन्ता तथा संस्थापक जामी ओर्टिज मारिनो हुन्। सन १९६७ मा भियतनाम युद्धको उत्कर्ष बेला उनी अमेरिकाको ओहायोस्थित केश वेस्टर्न रिजर्भ विश्वविद्यालयमा आर्किटेक्चर र डिजाइन अध्ययन गर्दै थिए। उनी लगायत विश्वविद्यालयका युवा विद्यार्थीहरूले भियतनाम युद्धको विरोध गरे।

यसरी सामाजिक अभियानमा डटेर लागेका जामी आफ्नो देश कोलम्बियाको बोगोटा फर्किँदा कोलम्बियन सहरहरूले विकासको अमेरिकीपथ पछ्याइरहेको देख्दा वाक्क भए। सहरभरि कारको संख्या हेर्दा एक व्यक्ति एक कारझैं देखिन्थ्यो। विकासको यस्तो तौरतरिकाले बोगोटा सहर कुनै दिन बस्न र बाँच्नयोग्य हुने छैन भन्ने अनुभूतिले उनलाई घच्घच्याउन थाल्यो।

उनले साइकललाई सहरी क्रान्तिको विम्ब या प्रतीकका रूपमा लिए। साइकलले वैयक्तिक, नागरिक अधिकार, सहरी यात्रा, सादगी र वातावरणीय जागरूकतालाई प्रतिनिधित्व गर्छ। उनले सन् ८० दशकको प्रारम्भमा रातको समय खुट्टामा फ्लस लाइट बाँधेर सडक र बाटाहरूमा र्‍याली सुरू गरे। सानातिना पसल खोलेर साइकल मर्मत गर्न थाले।

प्राय: उनीहरू स्कुल, सडक, बाटा र सरकारी निकायमा साइकलबारे भाषण र प्रस्तुति दिन्थे। अन्तत: १९७४ डिसेम्बर १५ मा बोगोटाका सरकारी निकायले उनीहरूबाट प्रभावित भएर बोगोटाको सेप्टिमाको सातौं र तेह्रौं सडकलाई मोटरगाडी निषेध गरेर साइक्लिस्ट र पैदलयात्रीका लागि खुला गरे।

पहिलोपल्टमै करिब पाँच हजार साइक्लिस्ट मध्य-बोगोटामा जम्मा भए। वृद्ध, युवा, केटाकेटी, विद्यार्थी, हिप्पी, गृहिणी, सामाजिक कार्यकर्ताहरू पनि खुला सडकमा आए। साइक्लोभिया एउटा अभियानबाट आन्दोलनमा परिणत भयो र विस्तारै सहरको संस्कृतिका रूपमा विकास भयो। सन् १९९० मा ऐनरिक पेनासोला बोगोटाको मेयर भएपछि यसले अझ तीव्रता र विस्तार पायो।

मेयरले साइक्लोभियाको रुट ८ माइलबाट बढाएर ७० माइल बढाए। साइक्लोभियामा १ लाख ४० हजारबाट २ लाख साइक्लिस्ट र अन्य सहभागी भए। आज यो संसारकै ठूलो कार्यक्रमका रूपमा विकास भएको छ।

बोगोटाबाट सुरू साइक्लोभियाको अनुकरण संसारका चार सयभन्दा बढी सहरले गरेका छन्। कार, मोटरगाडी सहरको केन्द्रीय प्राथमिकता हुन सक्दैन। बरू स्वस्थ वातावरणसहितको जीवनमूल्य नै सहरको मूल मुद्दा र प्राथमिकता हो भन्ने मर्मसहितको साइक्लोभिया अभियानलाई संसारभरका जागरुक सहरबासी र सरकारले बुझ्न थालेका छन्।

जलवायु परिवर्तनमा एकतिहाइ जिम्मेवार कार, मोटरगाडी, बाइकले प्रयोग गर्ने जैविक इन्धन हो। यसलाई कम गर्न वातावरणमैत्री साइकल र साइक्लोभिया अभियान झनै सान्दर्भिक र अनिवार्य हुँदै गएको छ। काठमाडौं लगायत हाम्रा हरेक सहर र नगरले यसको महत्व बुझ्न अत्यन्त जरुरी छ।

Leave a Reply