प्रचण्डलाई अर्काे धक्का

४ जेठ,काठमाडौं – नेकपा एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई धोका र अत्याचारको शिकार भएपछि छुट्टै हिँडेका नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई धक्का लाग्ने गरी नेता जनार्दन शर्माले संकेत गरेका छन् । ओलीबाट छुट्टिएको केही महिना मात्रै भएको छ र एमाले नेता माधवकुमार नेपालले समेत अन्तिममा धोका दिएर गएका बेला नेता शर्माले फेरि कम्युनिस्टसँग मिल्नुपर्ने विचार राख्दै ओली र नेपालसँग नजिकिने संकेत गरेका छन् ।

सोमबार राति सामाजिक सञ्जालमा लेख्दै नेता शर्माले फेरि पार्टी एकता हुनुपर्ने बताए । नेपाली कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध गरेर देशलाई आत्मनिर्भर अर्थतन्त्र र आर्थिक समृद्धि हासिल गर्दै सामाजिक न्याय स्थापनाका लागि राजनैतिक स्थिरता कायम गर्नुपर्नेमा नेता शर्माले जोड दिए ।शर्माले कानून, विधि र पद्धतिलाई अस्वीकार गर्ने प्रवृत्ति, प्रतिक्रान्तिकारी शक्ति सन्तुलन र भूराजनीतिक प्रभावका कारण विगतमा पार्टी एकता सफल हुन नसकेको बताए । मिडियाडबलिमा लेखिएको छ ।

शर्माले लेखेका छन्, ‘नेपाली कम्युनिस्ट आन्दोलनलाई एकतावद्ध गरेर देशलाई आत्मनिर्भर अर्थतन्त्र र आर्थिक समृद्धि हासिल गर्दै सामाजिक न्याय स्थापनाका लागि राजनीतिक स्थिरता कायम गर्ने र राष्ट्रिय स्वाधीनताको सुदृढीकरण गर्ने उद्देश्यमा केन्द्रित थियोे । लाखौं जनताले अनुमोदन गरेको एकता, त्याग र बलिदानबाट प्राप्त उपलब्धि जनअधिकार, कानून, विधि र पद्धतिलाई अस्वीकार गर्ने प्रवृत्तिका कारण, प्रतिक्रान्तिकारी शक्ति सन्तुलन र भूराजनीतिक प्रभावका कारण सफल हुन सकेन ।’

फेरि पनि देश र जनताको हितमा उठाएको एकताको झण्डालाई निरन्तरता दिनुपर्ने शर्माले बताए । उनले भनेका छन्, ‘फेरि पनि देश र जनताको हितमा उठाएको एकताको झण्डालाई निरन्तर उठाउने कुराको महत्व यस घटनाबाट किमार्थ कम हुन सक्दैन ।’नेता शर्माले ओलीसँग नजिकिने कुरा गरिराख्दा यसअघि नै माओवादी छाडेर प्रभावशाली नेताहरू ओलीतिर लागिसकेका छन् । गृहमन्त्री रामबहादुर थापा ‘बादल’, मन्त्रीहरू लेखराज भट्ट, टोपबहादुर रायमाझी, प्रभू शाह लगायत नेताहरू प्रचण्डलाई छाडेर ओलीतिर लागिसकेका छन् ।

Leave a Reply