भीमेश्वर मन्दिरको शीलामा पसिना,अनिष्ट हुने यस्तो सम्भावना

२६ बैशाख,काठमाडौं-दोलखाको प्रसिद्ध भीमेश्वर मन्दिरको शीलामा आज पसिना आएको छ। शनिबार दिउँसो १२ बजेर १५ मिनेटमा पसिना आउन सुरु भएको थियो । १ बजेर ३० मिनेटसम्म ९एक घण्टा १५ मिनेट० पसिना आएको हो । यस मन्दिरमा पसिना आउनुलाई देशमा अनिष्टको संकेत मानिन्छ । देशमा अनिष्ट हुने भयले राष्ट्रप्रमुखले क्षमापूजा गर्नु पर्ने धार्मिक मान्यता छ । यसपटक भीमेश्वरको शीलाको माथिल्लो भागबाट आएको पसिना बायाँ पटि र तल्लो भागमा आएको पसिना बीच भागमा आएको हो। बायाँ पसिना आउँदा जनतामा अनिष्ट हुने जनविश्वास छ।

भीमसेनलाई पसिना आएपछि मन्दिर परिसरमा ठूलो संख्यामा स्थानीयवासी र भक्तजनहरु भेला भएका थिए। भीमसेनलाई पसिना आएपछि मुलुक र जनतामा अनिष्ट नहोस् भनेर घण्टासहित सबै प्रकारका बाजाहरु बजाउने गरिन्छ । सोही परम्परा अनुसार शीलामा पसिना आएपछि स्थानीयवासीले भेला भएर घण्टा, नगरा र स्थानीय बाजा बजाउँदै शीलालाई चम्मरले हम्किएका थिए।

यसैबीच जिल्ला प्रशासन कार्यालय दोलखाले पनि यसको पुष्टि गरेको छ । आजै एक सूचना जारी गर्दै शनिबार दिउँसो शीलामा पसिना आएको जनाएको हो। क्षमापूजाका लागि आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीलाई दोलखा भीमेश्वर भगवानको महाप्रसाद पठाइने प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले जारी गरेको सूचनामा जनाइएको छ।

Leave a Reply